सप्तकोशी नदी सातवटा शाखा नदीहरू मिसिएर बनेको नेपालको एक प्रमुख नदी हो । यी शाखा नदीहरूमध्ये सुनकोशी, अरूण र तामाकोशी तीन नदीहरूको उद्गमस्थल छिमेकी राष्ट्र चीनको तिब्बत हो भने इन्द्रावती, लिखु, दूधकोशी र तमोरको उद्गमस्थल नेपाल हो । सप्तकोशी नदी छिमेकी राष्ट्र भारतको कुर्सेला भन्ने स्थानमा गंगा नदीमा गई समाहित हुन्छ ।
पूर्व अध्ययनहरूः
(क) भारत सरकारबाट भएको अध्ययन:
सन् १९४६ मा भारत सरकारबाट सप्तकोशी उच्च बाँध आयोजनाको अध्ययनका लागि स्थलगत सर्भेक्षण भएको थियो । यस सर्भेक्षणको आधारमा सन् १९८१ मा भारत सरकारद्वारा आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारिएको थियो । उक्त प्रतिवेदनमा सप्तकोशी उच्च बाँधबाट नेपाल र भारत दुवै देशलाई सिंचाई, विद्युत र बाढी नियन्त्रणका फाईदाहरु प्राप्त हुनसक्ने कुरा उल्लेख छ ।
(ख) नेपाल सरकारका लागि जापान अन्तर्राष्ट्रिय सहयोग संस्था (JICA) बाट भएको अध्ययन:
सन् १९८५ मा जाईकाको सहयोगमा नेपालले कोशी नदी वेसिनको जलश्रोत विकास सम्बन्धी गुरु योजना तयार गर्दा यस योजनाको साथै सुनकोशी स्टोरेज कम डाइभर्सन आयोजनालाई पनि प्राथमिकता दिई विकास गर्न सिफारिश गरिएको थियो । उक्त गुरु योजनाको प्रतिवेदन अनुसार डाइभर्सन आयोजनाबाट विद्युत उत्पादनको साथै कमला नदीको दुवै किनारमा रहेका भूभागमा समेत सिंचाई सुविधा पुग्ने र कमला नदीको तल्लो तटमा बाढी नियन्त्रण हुने समेत उल्लेख गरिएको छ ।
वर्तमान अध्ययन कार्यको लागि संस्थागत व्यवस्था:
सन् १९९१ मा नेपालका तत्कालिन सम्माननीय प्रधानमन्त्रीज्यूको भारत भ्रमणको अवसरमा यस आयोजनाको प्राविधिक विवरणहरुलाई अन्तिम स्वरुप दिन आवश्यक भएकोले संयुक्त रुपमा स्थलगत सर्भेक्षण गरी विस्तृत आयोजना प्रतिवेदन तयार गर्न सहमती भए अनुरुप आयोजनाको स्थलगत सर्वेक्षण कार्यको कार्य विधि तथा आयोजनाबाट प्राप्त हुने विभिन्न लाभहरुको मूल्यांकन गर्ने सिद्धान्तहरु तयार गरी विस्तृत आयोजना प्रतिवेदन तयार गर्न नेपाल–भारत संयुक्त विशेषज्ञ टोली गठन भएको थियो । उक्त टोलीको काठमाण्डौमा बसेका प्रथम बैठक सन् १९९२ मा दुवै देशका विद्युत, सिंचाई तथा बाढी नियन्त्रणका आवश्यकताहरु पूर्ति गर्ने हिसाबले आयोजनाको सम्पूर्ण पक्षहरुको अध्ययन/सर्वेक्षण गर्नें सहमति भएको थियो ।
तत्पश्चात उक्त टोलीको विभिन्न समयमा बसेको बैठकहरुमा सप्तकोशी उच्च बाँध बहुउद्देशीय आयोजनाबाट मात्रै कोशी नदी पश्चिमदेखि पर्सा जिल्लासम्म अवस्थित सम्पूर्ण सिंचाई योग्य भूभागमा भरपर्दो सिंचाई गर्न नसकिने अवस्था भएकोले उक्त भूभागमा सिंचाई सुविधा पु-याउनका लागि सुनकोशी स्टोरेज कम डाइभर्सन आयोजनाको पनि साथ साथै अध्ययन गर्ने र यी दुवै आयोजनाहरुबाट प्राप्त हुने सिंचाई, विद्युत तथा बाढी नियन्त्रणका लाभहरुको यथोचित मूल्यांकन गर्ने र सप्तकोशी आयोजनाको निर्माण पश्चात नियन्त्रित पानीबाट हुनसक्ने जलपरिवहनको समेत अध्ययन गर्ने सहमती भए अनुसार नेपाली पक्षबाट तयार गरेको प्रारम्भिक प्रतिवेदन (Inception Report) लाई संयुक्त विशेषज्ञ टोलीको चौथो बैठक (अक्टोवर, २००१) मा अन्तिम स्वरुप दिईएको थियो ।
उक्त प्रतिवेदन अनुसार स्थलगत्त कार्यहरु संचालन गर्न नेपाल तथा भारत सरकारबीच सन् २००४ जुन २१ मा पत्रहरु (Letter of Exchange) आदान प्रदान भई कार्यहरु अगाडि बढाउन भारत सरकारको अनुदान सहयोगमा नेपाल–भारत संयुक्त आयोजना कार्यालय सप्तकोशी–सुनकोशी अन्वेषण (JPO-SKSKI) को स्थापना सन् २००४ अगस्ट १६ मा नेपालको विराटनगरमा भएको छ । दूवै देशका प्राविधिकहरु सम्मिलित उक्त कार्यालय अन्तर्गत डिभिजन कार्यालयहरु धरान तथा जनकपुरमा स्थापना गरी तीस (३०) महिना भित्र अध्ययन कार्य सम्पन्न गरिने लक्ष्य राखिएको थियो । विभिन्न असहज परिस्थितिले गर्दा समयमा कार्य सम्पन्न गर्न नसकेकोले पटक-पटक गरी आयोजनाको समयावधि थप भई हाल संयुक्त विशेषज्ञ टोलीको सत्रौं बैठकमा सहमति भए अनुरुप सन् २०२६ को मार्च ३१ सम्मको लागि म्याद थप गर्न सिफारिश गरिएको र सो समयावधिको सहमति भारतबाट आईसकेको।
वर्तमान अध्ययनको उद्देश्यहरू
- आयोजनाहरूसंग सम्बन्धित सबै पक्षलाई मध्यनजर गरी आयोजनाहरूको सामाजिक, वातावरणीय ,प्राविधिक र आर्थिक दृष्टिकोणबाट सम्भाव्य भए नभएको यकीन गर्नेछ।
- आयोजनाहरूको कार्यान्वयनका लागि आवश्यक लागत अनुमान तयार गर्नेछ ।
- सिंचाइ, विद्युत उत्पादन, जलपरिवहन र बाढी नियन्त्रण कार्यहरूबाट दुवै देशलाई प्राप्त हुने लाभहरूको आंकलन गरिनेछ ।
वर्तमान अध्ययनको कार्य क्षेत्र
यस आयोजनाको कार्यक्षेत्र अन्तर्गत मुख्य रूपमा स्थलरूप सर्भेक्षण, सिंचाइ, जलपरिवहन साथै बाढी नियन्त्रण, विद्युत उत्पादन तथा खपत सम्बन्धी अध्ययन पर्दछन । साथै भौगर्भिक सर्भेक्षण, निर्माण सामग्रीको सर्भेक्षण, भूकम्प सम्बन्धी अध्ययन, जलवायु तथा पानीको उपलब्धताको अध्ययन, नदीमा बग्ने थिग्रेनी (Sediment) को अध्ययन र आयोजनाहरूको निर्माण पश्चात वातावरणमा पर्ने असरहरूको अध्ययन पर्दछन् ।
यसका अतिरिक्त आयोजनाहरू अन्तर्गत निर्माण हुने विभिन्न सिभिल तथा इलेक्ट्रोमेकानिकल संरचनाहरूको प्रारम्भिक डिजाईन गर्ने, निर्माण सम्बन्धी कार्ययोजना तयार गर्ने, लागत अनुमान तयार गर्ने तथा आयोजनाहरूको वित्तीय तथा आर्थिक मूल्याङ्कन गर्ने कार्यहरूलाई समेत यस अध्ययनले समेट्दछ ।